SEE दिने विद्यार्थीका लागि नेपाली बिषयको केही टिप्सहरु,,,,

Home Activities SEE दिने विद्यार्थीका लागि नेपाली बिषयको केही टिप्सहरु,,,,

SEE दिने विद्यार्थीका लागि नेपाली बिषयको केही टिप्सहरु,,,,

Date: March 27, 2024

एसइई परीक्षार्थीका लागि : नेपाली विषयमा सफल हुन केही टिप्स १.‘जोडा मिलाउने’ का लागि पाठ्यपुस्तकका शब्दार्थ याद गर्ने । २.‘उपयुक्त शब्द पहिचान’का लागि व्याकरण शब्दभण्डार याद गर्नुपर्ने । खाली ठाउँ भर्दा आवश्यक शब्दमात्र नलेखी पूरै वाक्य लेखेर थपिएको शब्दलाई रेखाङ्कन गर्ने । यसमा, सिङ्गो शब्द छान्दा ध्यान पुर्‍याउने । ३.‘वाक्यमा प्रयोग’का लागि पाठ्यपुस्तकमै भएका अनुकरणात्मक शब्द, पारिभाषिक–प्राविधिक शब्द, उखान, टुक्का र निपात याद गर्ने । यसमा पारिभाषिक शब्द छान्दा ध्यान पुर्‍याउने । ४.(क)‘शुद्ध शब्द छान्ने : यसमा पनि पाठमै प्रयोग भएका शब्द सोधिने हुन् । ब/व, श/ष/स, पञ्चम वर्ण तथा ‘र’ का विभिन्न रूप प्रयोग भएका शब्द समूहमध्ये कुनै २ ओटा शब्द सोेधिने हुँदा यतिमा ध्यान दिए पुग्ने । (ख) वाक्य शुद्ध पार्ने : यसमा पनि ह्रस्व, दीर्घ, लेख्यचिह्न, पदयोग/पदवियोग,चन्द्रबिन्दु/शिरबिन्दु,य/ए, क्ष/छ्य, ग्यँ/ज्ञमध्येबाट शुद्ध पार्न सोधिने हुँदा थोरै ध्यान दिएको भए धेरै गाह्रो छैन । व्याकरणमा वर्णविन्यास शीर्षक पढ्कै छौँ । ५.‘शब्दवर्ग/पदवर्ग छुट्याउने’ का लागि व्याकरणको शब्दवर्ग/पदवर्ग पढ्ने । यसमा छ ठाउँमा रेखाङ्कन गरिएको हुन्छ । यीमध्ये एउटा पदवर्ग विचलन भएको दिन्छ । ‘पदवर्ग विचलन’ भनेको एउटा पदवर्गका रूपमा जानिराखेको तर त्यहाँ प्रयोगका कारणले अर्कै पदवर्गका रूपमा रहेको भन्ने बुझ्नुपर्छ । यो विशेषतः “विशेषण : नाम, सर्वनाम : विशेषण, विशेषणः क्रियायोगी”का रूपमा आउँछन् । जस्तै, ‘बूढो मान्छे’ भन्दा यहाँ बूढो विशेषण छ तर ‘यो टोलमा पाँचजना बूढाहरू ९० वर्ष काटेका छन्’ भनियो भने यहाँ ‘बूढाहरू’ नाम हुने भयो । त्यस्तै, ऊ घरभित्र छ । (भित्र : नामयोगी), ऊ भित्र गयो । (भित्र : क्रियायोगी) । ६.‘उपसर्ग/प्रत्यय पहिचान गर्ने तथा समास/विग्रह र तिनको निर्माण प्रक्रियासमेत गर्नका लागि दिइएको अनुच्छेद राम्ररी पढेर त्यहीँ खोज्ने । उपसर्ग शब्दको देब्रेपट्टि आउँछ र प्रत्यय दाहिनेपट्टि आउँछ भन्ने कुरा हामीलाई थाहै छ । ‘कतिपय उपसर्गहरू नदेखिने गरी आउँछन् भने प्रत्ययहरू त झन शब्दमा टाँसिएका हुन्छन्’ भन्ने कुरा ख्याल गर्ने । तिनको निर्माण प्रक्रिया देखाउन पनि गाह्रो छैन । उपसर्ग र प्रत्ययको सङ्ख्याबारे `प्राक्टिस सेट´को पाठ्यक्रममा हेर्नुभएकै होला । समास गर्दा छरिएका शब्द जोड्ने र विग्रह गर्दा जोडिएका शब्द छुट्याउने हुँदै हो । ७. कुनै पनि कालको पक्षमा परिवर्तनका लागि, काल र पक्षबारे राम्ररी थाहा पाउने । लागेको बानी : सामान्य वर्तमान=ऊ दिनको पाँच गिलास चिया पिउँछ । छोेको बानी : अभ्यस्त भूत = ऊ दिनको पाँच गिलास चिया पिउँथ्यो । काम पहिला भएर पछि थाहा पाएको अज्ञात भूत : डाँडामा हिउँ परेछ । (हिउँ राति नै परेको थियो, बिहान हेर्दा थाहा भयो ।) सबै कालका अपूर्ण पक्षमा तै÷दै र पूर्ण पक्षमा एको/एकी/एका –आदरार्थीमा `नु भएको´) आउँछ भन्ने कुरा हामीलाई थाहै छ । ८.–भावका लागि सामान्यार्थ,आज्ञार्थ,इच्छार्थ,सम्भावनार्थ,सङ्केतार्थबारे फेरि एकपटक पढ्ने । कुनै पनि भाव (चार वाक्य)मा बयान गर्दा वाक्यको क्रमबद्धता र शुद्धतामा पनि ध्यान दिऊँ । –एउटा लिङ्ग, वचन, पुरुष, आदरमा रहेको वाक्यलाई अर्को लिङ्ग, वचन, पुरुष, आदरमा परिवर्तन गर्न कुनै गाह्रो छैन । यस क्रममा पदसङ्गतिको पनि ख्याल गर्ने । ९.कोष्ठकमा दिइएका धातु र सङ्केतका आधारमा वाक्य परिवर्तन गर्न वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण÷विश्लेषण, प्रत्यक्ष/अप्रत्यक्ष कथनबारे फेरि एकपटक व्याकरणमा पढ्ने । वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण/विश्लेषणमा कालचाहिँ परिवर्तन नगर्ने । १०.अनुच्छेद पढेर– रेखाङ्कन गरिएको वाक्यमा कारक र विभक्ति चिनेर लेख्नुपर्ने, उद्देश्य र विधेय चिन्नुपर्ने, आलङ्कारिक पदक्रम र व्याकरिणक पदक्रममा परिवर्तन गर्नुपर्ने हुन्छ । सरल, मिश्र र संयुक्त वाक्यमा परिवर्तन गर्नुपर्ने पनि हुन्छ । यसबारे हामी जानकार नै छौँ । ११.पाठ्यपुस्तकमा नभएको अनुच्छेद (अनसिन प्यासेज) दिएको हुन्छ—त्यो पढेर चारओटा प्रश्नको उत्तर दिनुपर्ने । यस्ता प्रश्नको उत्तर लेख्दा अनुच्छेदमा दिइएको कुरा जस्ताको तस्तै नसार्ने । प्रश्न जुन कालमा सोधिएको छ उत्तर पनि त्यही कालमा लेख्ने । कतिपय प्रश्नको उत्तर लेख्दा मौलिक उत्तर लेख्नुपर्ने हुँदा, दिइएको अनुच्छेद राम्ररी बुझेर पढ्ने । प्रश्न कुन क्रियामा टुङ्गिएको छ भन्ने कुरा ख्याल गर्ने । १२.बुँदाका आधारमा कथा वा जीवनी लेख्नुपर्नेबाट १ र वादविवाद, मनोवाद र संवादमध्ये १ को उत्तर लेख्नुपर्ने गरी जम्मा दुईओटा प्रश्न सोधिएको हुन्छ । यिनमा पनि एउटा मात्र प्रश्नको उत्तर लेखे पुग्ने भएकोले, कथा वा जीवनी लेख्न जाने हुने भयो । यी दुवैमा शीर्षक लेख्नचाहिँ नबिर्सने । १३.कार्यालयीय चिठी/निवेदन/व्यावसायिक चिठी/सम्पादकलाई चिठीमध्येबाट १ र समाचार लेखन/विज्ञापन/निमन्त्रणापत्र लेखन १ गरी दुईओटा प्रश्न सोधिए पनि कुनै १ को मात्र उत्तर लेख्दा हुने भएकोले सोहीअनुसार तयार हुने । चिठी लेख्दा पूरै एक पेज खर्च गरौँ । १४. बुँदा टिपोट गर्नुपर्ने र सारांश लेख्नुपर्ने अनुच्छेद पाठ्यपुस्तककै पाठबाट आउँछ । बुँदा टिपोट गर्दा, दिइएको अनुच्छेद राम्ररी पढेर टिप्ने । वाक्य नटुङ्ग्याउने । सारांश लेख्दाचाहिँ वाक्य टुङ्ग्याउने र सुहाउँदो शीर्षक दिन पनि नबिर्सने । १५.पाठ्यपुस्तककै कथा वा कविताबाट दिइएको अनुच्छेद पढेर उत्तर दिनुपर्ने प्रश्न (२ ओटा)मा, उत्तर ५÷७ वाक्यको मात्र लेख्ने । अनावश्यक लामो र गन्थने उत्तर लेखेर अङ्क नपाइने । साथै उत्तरका लागि त्यही अनुच्छेद सार्नु नहुने । उक्त अनुच्छेद जुन पाठबाट निकालिएको हो, त्यो पाठ राम्ररी बुझेको हुनुपर्ने । त्यस्तै निबन्ध,जीवनी वा रुपकबाट सोधिएका प्रश्न (२ ओटा)को उत्तर लेख्दा पनि मूल अनुच्छेद नै सार्ने नगरी प्रश्नले मागेको कुरो मात्र मौलिक शैलीमा लेख्ने । उक्त अंशले दिन सक्ने लाक्षणिक अर्थसमेत ठम्याएर उत्तर लेख्नुपर्ने । १६.आफ्नो विचार दिनुपर्ने तार्किक उत्तर लेख्दा, पहिला पाठमा भएको सन्दर्भ लेख्ने । त्यसपछि कल्पना गरेर तार्किकरूपमा आफ्ना विचार लेख्ने । यस्तो उत्तर दुई अनुच्छेदमा हुनुपर्ने । १७.भावविस्तार वा व्याख्या दुईओटा(एउटा कविताबाट आउने)–मध्ये एउटा गर्नुपर्छ । यो सामान्यतः तीनओटा अनुच्छेदमा गरिन्छ । उक्त पङ्क्तिले दिने सिधा अर्थभन्दा पनि लाक्षणिक अर्थमा ध्यान दिनुपर्छ । स्मरणीय छ : प्रश्नमा दिइएको अंश सार्नैपर्छ, सुरुका दुई शब्द र अन्तिमका दुई शब्द भए पनि । त्यो प्रस्तुतै नगरी, ‘प्रस्तुत हरफ’ भन्न मिल्दैन । १८.समीक्षात्मक उत्तर लामो हुन्छ । यो लेख्दा तीन खण्डमा लेख्नुपर्छ : पहिलो अनुच्छेदमा : लेखकको नाम र लेखनको मूल विधाको चिनारी दोस्रो अनुच्छेदमा : प्रश्नमा केन्द्रित भएर पाठको तर्कपूर्ण विश्लेषण, सम्बन्धित अंशले दिने अनेकौँ अर्थ,प्रेरणा र सन्देशको सामान्य चर्चा तेस्रो अनुच्छेदमा : कविता भए छन्द र लयको चर्चा, निबन्ध भए विचारको चर्चा, कथा भए सन्देशको चर्चा गर्दै प्रश्नको आशयमा केन्द्रित रहेर उत्तर टुङ्ग्याउने । यस क्रममा प्रश्नको अन्तिम क्रियापदलाई ध्यान दिने । १९.निबन्ध लेख्दा उक्त शीर्षकबारे आफूले पहिल्यै जानेको/बुझेको कुरा लेख्ने हो । यसका लागि हामीमा अध्ययनशीलता र लेख्ने अभ्यास पनि भएको हुुनुपर्‍यो । निबन्ध लेखनमा पनि परिचय खण्ड, व्याख्या खण्ड र निष्कर्ष खण्ड गरी तीन खण्डमा बाँडेर लेख्न सकिन्छ । सोधिएका तीनओटा शीर्षकमध्ये एउटाको मात्र लेखिने र १५० शब्दको मात्र भए पुग्ने । (यो टिप्स यहाँसम्म ९७० शब्दको छ । शीर्षकदेखि माथि ५ सम्म २३२ शब्द ! भनेपछि निबन्ध, लामो नलेख्दा हुने भयो ।) –समयको ख्याल गरौँ । सफलताको शुभकामना !